बेसरी मन रोला भो कुरै नगरम्
सोचेजस्तो नहोला भो कुरै नगरम्
यहाँ चामल र सुन उस्तै उस्तै हुन्
किलो किन्नू या तोला भो कुरै नगरम्
कति मरे कति अपाङ्ग बनेकाथे
पड्की बम र गोला भो कुरै नगरम्
साँझबिहान गरिबको चिन्ता खाना हो
कैले फेरिन्छ चोला भो कुरै नगरम्
मूर्खका सवालहरु यस्ता नि हुन्छन्
उकालो बग्छ खोला भो कुरै नगरम्
अरे भाई, नयाँ नेपाल यहि हो के
ऋण झोलाका झोला भो कुरै नगरम्
— जीवन शर्मा अर्याल
स्याङ्जा